अनेस कतारले गर्यो खेलाडीलाई सम्मान

२६ फागुन, २०७३

दोहा – नयाँ शक्ति पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज (अनेस) कतारले नेपालका तेक्वान्डो खेलाडीहरुलाई सम्मान गरेको छ । अनेसले गत ७ मार्चमा अन्तर्राष्ट्रिय खेलका विभिन्न विधामा गोल्ड मेडल जित्ने तेक्वान्डो खेलाडीहरुलाई सम्मान गरेको छ ।

नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय च्याम्पियनसिप प्रतियोगितामा गोल्ड मेडल जितेर देशको नाम राखेको भन्दै तेक्वान्डो कोच रोशन खान तथा तेक्वान्डो खेलाडीहरुसमेत गरी ११ जनालाई बेष्ट अवार्डले विभूषित तथा सम्मानित गरेको हो । अनेस कतारले उनीहरुलाई सम्मानपत्रसहित ५५ हजार नगद राशी समेत प्रदान गरेको छ ।

विगतदेखि खेल जगत र खेलाडीसँग मिलेर अभियान सञ्चालन गरेको अनेस कतारले युएइमा च्याम्पियनसिप खेलेर नेपाल फर्किन लागेका खेलाडीहरुलाई कतार भित्र्याई सम्मान स्वरुप उक्त कार्यक्रम गरेको जनाएको छ । उक्त अवसरमा खेलकुद क्षेत्रको विकासका लागि आफूहरुले अभियान चलाउने अनेस कतारका संयोजक वि.वि खरालले बताउनुभयो । उहाँले खेलाडीहरुलाई सम्मान गर्दै खेलकुद क्षेत्रको संरक्षण गर्न राज्य चुक्न नहुने धारणा समेत व्यक्त गर्नुभयो ।

सम्मान समारोहमा उपस्थिति अतिथि तथा खेलाडीहरुलाई अनेस कतारका संगठन विभाग प्रमुख लाल भट्टले स्वागत गर्नु भएको थियो भने सह–संयोजक दुर्गा सुनार, प्रवक्ता ध्रुव क्षेत्री, कोषाध्यक्ष देव परियार, सन्तोष बस्नेत र अतिथि मुश्लिम विभाग संयोजक इब्राहिम मियाले शुभकामना मन्तव्य दिनु भएको थियो ।

कार्यक्रममा तेक्वान्डो कोच रोशन खान र गोल्ड मेडलबाट सम्मानित सुदिप गिरीले नयाँ शक्ति पार्टी नेपाल र अनेस कतारले आफूहरुलाई गरेको सम्मान ऐतिहासिक कार्य रहेको भन्दै खुशी व्यक्त गर्नुभएको थियो ।