नयाँ शक्तिको अभियान विभेद र झगडा फैल्याउनेहरुको काउन्टरमा : नेता चौधरी

१२ चैत २०७३

कोहलपुर (बाँके), १२ चैत । नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय कार्यकारी समिति सदस्य दान बहादुर चौधरीले जारी अभियान कसैको काउन्टरमा नभएको बताउनुभएको छ ।

नयाँ शक्ति पार्टीको जारी हिमाल–पहाड–तराई/मधेश थरुहट राष्ट्रिय अभियानलाई शनिबार बाँकेको कोहलपुरमा सम्बोधन गर्दै उहाँले यो अभियान देशमा विभेद फैलाउने र जातीय झगडा निम्त्याउनेहरुको विरुद्धमा भएको धारणा राख्नुभयो ।

उहाँले कसैले यो देशलाई बर्बाद गर्ने र जातीय झगडा फैलाउने अधिकार नभएको बताउँदै शदिऔदेखि मिलेर बसेका समुदायहरु भोलिका दिनमा पनि त्यसैगरी मिलेर बस्ने बताउनुभयो ।

उहाँले नेपालका केही पाखण्डी नेताहरुले अग्रगामी पक्षधर दलहरुको बहुमत भएको पहिलो संविधानसभाले संविधान जारी गर्‍यो भने देश टुक्राटुक्रा हुन्छ भनेर संविधानसभा नै विघटन गराइएको स्मरण गर्नुभयो ।

उहाँले बहुमतको बलमा जारी भएको संविधान अपूर्ण भएकोले संशोधनमार्फत पूर्ण बनाउनुपर्ने धारणा राख्नुभयो । 'निर्वाचनबाट हामी एक इन्च पनि पछाडि छैनौं,' उहाँले भन्नुभयो, 'नयाँ शक्ति निर्वाचनको लागि तयार छौं, पछाडि पर्दैनौं ।'