समृद्धि र प्रगतिका लागि सबैको मन मिल्नुपर्छ : नेतृ यमी

१२ चैत २०७३

कोहलपुर (बाँके) । नयाँ शक्ति पार्टीकी अन्तरराष्ट्रिय सम्बन्ध विभागकी प्रमुख तथा महिला नेतृ हिसिला यमीले मुलुकको समृद्धिको लागि सबैको मन मिल्नुपर्नेमा जोड दिनुभएको छ ।

नयाँ शक्ति पार्टीको जारी हिमाल–पहाड–तराई/मधेश थरुहट राष्ट्रिय अभियानलाई शनिबार बाँकेको कोहलपुरमा सम्बोधन गर्दै उहाँले समृद्धिका लागि सबैले सहकार्य गर्नु अपरिहार्य भएको बताउनुभएको हो ।

उहाँले देशमा नयाँ नेपालको पूर्वाधार तयार भइरहेको प्रसंग उल्लेख गर्दै विकासको प्रत्याभूतिका लागि भौतिक समृद्धिले मात्र नभई मानवमुखी बन्नुपर्नेमा जोड दिनुभयो । यो अभियानको अगुवाई नयाँ शक्तिले गर्ने उहाँको धारणा थियो ।

नेपाल पहाड, हिमाल, मधेश र तराईको राम्रो सम्मिश्रण भएको तर्क गर्दै उहाँले विकास, समृद्धि र प्रगतिका लागि सबैको मन मिल्नुपर्ने पनि बताउनुभयो । 'ऐतिहासिक रुपमा कुनै जाति वर्ग किन पछि पर्‍यो,' उहाँले भन्नुभयो, 'त्यसको कारण जति चाँडो बुझ्यो विकास र समृद्धिको दर त्यति नै छिटो हुन्छ ।'