सबैलाई समृद्ध बनाउने नै हाम्रो साझा सपना हो : संयोजक भट्टराई

हिमाल, पहाड, तराई/मधेश राष्ट्रिय अभियानको समापन
१३ चैत, २०७३

धनगढी । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सम्बोधन गर्दै सबै समृद्ध बन्ने नै आफ्नो साझा सपना भएको बताउनुभएको छ । उहाँले नयाँ शक्तिले आइतबार धनगढीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै संविधानपछि देशमा शान्ति छाउने छ र समृद्धिको यात्रामा अघि बढ्नेछ भन्ने सपना अझै पनि कार्यान्वयन हुन नसकेकाले नयाँ शक्तिले त्यसैलाई कार्यान्वयन गर्ने लक्ष्य निर्धारण गरेको बताउनु भएको हो ।

उहाँले केही व्यक्तिहरुले यो देशका विभिन्न समुदायहरुकाबिच विभाजन ल्याएर देशमा विखण्डनको बिउ रोप्ने कोशिस गरिरहेको आरोप लगाउनुभयो । ‘जातीय विभेद, विद्वेष, घृणा र विखण्डनको बिउ रोप्नेहरुका विरुद्ध प्रतिक्रिया स्वरुप एउटा युवापंक्ति मधेशलाई खुलेआम टुक्र्याएर छुट्टै देश बनाउनुुपर्छ भन्दै मधेशमा अर्कोथरी विखण्डनको विउ रोपिएको छ’ उहाँले भन्नुभयो – ‘यी दुईबीच सालनाल जोडिएको छ । त्यसको विरुद्ध हामी राष्ट्रिय एकताको पक्षमा यो अभियान संचालन गरेका हौं ।’

एउटा समुदायलाई खुसी बनाउँदै उनीहरुलाई भोट बैंक बनाएर चुनाव जित्ने, सत्तामा जाने र भ्रष्टाचार गर्ने पुरानो राजनीतिक दलहरुको प्रवृत्तिप्रति आक्रोश पोख्दै उहाँले त्यसको अन्त्यका लागि नयाँ शक्तिले सदाचारयुक्त राजनीति गर्ने बताउनुभयो ।

उहाँले नेपालीहरुको जुन तीन थरी जातीय क्लस्टर छ, उनीहरुको सहि इतिहास जनतालाई बुझाएर, यो देशलाई सहि अर्थमा भावनात्मक रुपमा जोडेर राष्ट्रिय एकता बलियो बनाउनुनर्पे आवश्यकता रहेको बताउनुभयो ।

‘भृकुटी, सीता र जनकलाई विभुति भन्ने तर, त्यही भूमिमा बस्ने मधेशी थारुहरुलाई विदेशी भन्न मिल्छ ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो – ‘हामी चाहे खस आर्य, आदिवासी, जनजाति, मधेशी थारु हामी सबै नेपाली हौं । जो बढी घुमन्ते हुन्छ, ऊ टाठोबाठो हुन्छ । भावनामा बग्न हुँदैन विज्ञान र तथ्यमा आधारित भएर निश्कर्ष निकाल्नुपर्छ । यसर्थ, हामी सबै बराबरी हौं । ’

संयोजक भट्टराईले केही भुईफुट्टा मानिसलाई जसले महाकाली जस्तो राष्ट्रघाटी सन्धि गरे तिनलाई प्रश्न गर्न चाहन्छु, देशलाई एकतावद्ध गर्नेहरुको विरुद्ध बिष बमन गरेर युवाहरुमा भ्रम छरेर अराजकता सिर्जना किन ?

परिवर्तनविरोधीहरुले संघीयताप्रति विष वमन गरेको तर्क गर्दै उहाँले भन्नुभयो – ‘संघीयता भनेको अलग घर बनाउने होइन, एउटै घरमा अलग कोठा बनाउने भनेको हो । अखण्ड र सार्वभौम नेपालभित्र उनीहरुको ऐतिहासिक थातथलोलाई सीमांकन गरेर बनाइने संरचना नै संघीयता हो ।’

‘जातीय क्लस्टर अनुसार ऐतिहासिक थातथलो नबिग्रने गरी संघीयता बनाउँदा के बिग्रिन्छ ?’ उहाँको प्रश्न थियो – ‘संघीय राज्य बनेपछि एउटै जाति बसोबास गर्ने भन्ने होइन, किन आतंक मच्चाइन्छ ?’

उहाँले जातीय एकता कायम गर्ने उपयुक्त विधि भनेको संघीयताको उचित व्यवस्थापन नै भएको कुरामा जोड दिनुभयो ।

संयोजक भट्टराईले भारतले पनि नेपालमा शान्ति र स्थायित्व नै चाहेको तर्क गर्दै अनावश्यक रुपमा फैलाइएको भ्रमप्रति असन्तुष्टि पोख्दै हामीले आफंै डराएर कपोल्कल्पित कुरा गर्नु नहुने बताउनुभयो ।

सभालाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टी सांस्कृतिक विभाग प्रमुख करिष्मा मानन्धरले देशको समृद्धिका लागि एकता आवश्यक रहेकोले त्यही सन्देश लिएर नयाँ शक्ति अगाडि बढेको बताउनुभएको छ ।

‘हामीले दुनियाँको समृद्धिलाई आफ्नै हातको मोवाइलबाट हेरिरहेको अवस्थामा आफ्नो देश पनि त्यस्तै होस् भन्ने चाहना आम मानिसको रहेको छ’ उहाँले भन्नुभयो – ‘देशलाई त्यही तहको विकास र समृद्धिमा पुर्याउनु आवश्यक छ, जसको पहल नयाँ शक्तिले गर्नेछ ।’

उहाँले विगतमा आफूले चुनेका नेताहरुले काम नगरेको तर्क गर्दै अब नेतृत्व छान्दा योग्य व्यक्तिलाई रोज्न समेत आग्रह गर्नुभयो । उहाँले हाम्रो जस्तै अवस्थामा रहेका देशहरु सिंहापुर, मलेशिया, कोरियाले छोटो समयमा समृद्धिको फड्को मारेका तथ्य उल्लेख गर्दै भन्नुभयो – ‘हामीले पनि त्यो समृद्धि हासिल गर्नका लागि नयाँ शक्तिले समृद्धिको एजेण्डा उठान गरेको हो’

उहाँले विश्वास नै समृद्धिको आधार भएको बताउँदै नयाँ शक्तिलाई विश्वास गर्न आग्रह समेत गर्नुभयो । राजनीतिमा आएर केही गर्छु भनेर आएको सुनाउँदै उहाँले राजनीतिमा लागेदेखि निकै आरोह अवरोह भोगेको समेत बताउनुभयो ।

नेतृ हिसिला यमीले नयाँ शक्तिले विकासको मात्र कुरा नगरेको बताउँदै यसले विकासको सँगसँगै समावेशीको कुरा पनि गरेको बताउनुभयो । उहाँले महिला पुरुषका साथै तेस्रो लिंगी समुदायलाई पनि नयाँ शक्तिले समाहित गरेको बताउँदै सबैलाई अधिकारसम्पन्न गराउने लक्ष्य रहेको बताउनुभयो । उहाँले सुदूर पश्चिम काठमाडौंबाट उत्पीडित भएको तर्क गर्दै हिमाल, पहाड र तराई मधेशका जनता एकताबद्ध हुनुपर्ने धारणा राख्नुभयो ।

सांसद गंगा चौधरीले आदिमकालदेखि बसोबास गर्ने थारुहरुको अधिकार सुनिश्चित गरिदेउ भन्दा जेलमा राजबन्धी जीवन बिताउनुपर्ने अवस्था भएकोमा दुःख व्यक्त गर्दै आफूहरुले अधिकारको कुरा गर्दा देशद्रोही र विखण्डनकारीको विल्ला लगाइएको आरोप लगाउनुभयो । उहाँले राष्ट्रिय रुपमा थारु, आदिवासी, जनजाति, कमलरी मुक्त कमैयाहरुको मुद्दालाई सम्बोधन गरेर देशलाई आर्थिक विकास र समृद्धिमा लैजाने जिम्मेवारी नयाँ शक्तिको भएको बताउनुभयो ।

पार्टीका वित्त विभाग प्रमुख जनक शाहले सम्बोधन गर्दै नेकपा एमालेको मेचीमहाकाली अभियानप्रति संकेत गर्दै उनीहरुले अभियानको नाममा विभाजनको रेखा कोरेर गएको आरोप लगाउनुभयो । उहाँले त्यो विभाजनको रेखालाई मेटेर हिमाल, पहाड तराई मधेशमा बस्ने विभिन्न जातजाति, भाषाभाषिहरुबीच भावनात्मक एकता निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । त्यसरी निर्माण हुने एकताले मात्र देशमा समृद्धि हासिल हुन सक्ने उहाँको धारणा थियो ।

नेता रामकुमार शर्माले सम्बोधन गर्दै देशमा गणतन्त्र र धर्मनिरपेक्षता आएको भए पनि तराई मधेश थरुहटको अधिकारलाई सम्बोधन गर्न नसकेकोले आन्दोलन जारी रहेको बताउनुभयो । उहाँले एमाले कांग्रेसको अवरोधका कारण पहिलो संविधानसभाबाट अग्रगामी संविधान बन्न नसकेको बताउँदै दोस्रो संविधानबाट अधुरो संविधान जारी भएको तर्क गर्नुभयो । एमालेले तराई मधेशमा बलिरहेको आगोमा घिउ थप्ने काम गरेको आरोप लगाउँदै नयाँ शक्तिले त्यसलाई समाधान गन खोजेको बताउनुभयो ।

नेता नवराज सुवेदीले नयाँ शक्ति पार्टी लोकतन्त्र, आवधिक निर्वाचनप्रति प्रतिबद्ध भएको चर्चा गर्दै सत्ताधारी दलहरुले लोकतन्त्रको बन्ध्याकरण गर्ने कोशिश गरेको आरोप लगाउनुभयो । ‘लोकतन्त्रको बन्ध्याकरण गर्न पाइदैन, बहुदलीय प्रतिस्पर्धालाई बन्ध्याकरण गर्न पाइदैन’ उहाँले भन्नुभयो –‘लोकतन्त्र र बहुदलीय प्रतिस्पर्धालाई बन्ध्याकरण गरिन्छ भने अहिलेका दलका नेताहरुको हालत पनि ज्ञानेन्द्र शाहको जस्तो हुनेछ ।’

नेता महेन्द्र पासवानले हिजोको आन्दोलनको लक्ष्य र उद्देश्यबारे प्रस्ट पार्दै उत्पीडित समुदायले अधिकार पाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । जनतालाई अधिकार दिन नचाहनेहरुले विखण्डनको अवस्था सिर्जना गरेको आरोप लगाउँदै उहाँले जनतालाई अधिकार सम्पन्न गराएर मात्र देशको विकास र समृद्धि हासिल हुनसक्ने बताउनुभयो ।

आमसभामा स्वागत मन्तव्य राख्दै नयाँ शक्ति पार्टीका कैलाली जिल्ला संयोजक कृष्ण कुमार चौधरीले नयाँ शक्तिको जारी राष्टिय अभियानले सबै वर्ग र समुदायका नागरिकहरुलाई एउटै मालामा उन्न प्रयत्न गरिरहेको बताउनुभयो । कार्यक्रमको अध्यक्षता गर्दै नेता भीम कडायतले सत्ता, शक्ति र सम्पत्तिमा पुराना पार्टीहरु लिप्त भएको आरोप लगाउनुभयो । सभाकै क्रममा संयोजक डा. बाबुराम भट्टराईबाट कृषि प्राविधिक राजु रानाले निर्माण गर्नुभएको आलुरोप्ने मेसिनको समेत सार्वजनिक गर्नुभयो । सभामा विभिन्न स्थानीय कलाकारहरुले सांगितीक प्रस्तुत दिनुको साथै कविता वाचन तथा देउडा गीत प्रस्तुत गरिएको थियो । चर्को घामका बाबजुद हजारौं जनताको उत्साहपूर्ण सहभागिताका साथ कार्यक्रम सम्पन्न भएको थियो ।