मधेसमा एकैदिन दर्जनौं कार्यक्रममा पुगेर डा. भट्टराईले भन्नुभयो, ‘नाकाबन्दी सीमामा होइन, सिंहदरबारमा गर्नुपर्छ’

४ वैशाख २०७३

सिरहा । मधेस जागरण अभियानमा मध्य मधेस झर्नुभएका नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई शनिबार एकैदिन एक दर्जभन्दा बढी कार्यक्रममा सहभागी हुनुभएको छ । सप्तरीको नवौंबाट सुरु भएको जागरण सभाहरु सम्बोधन गर्दै सिरहामा रातिसम्म कार्यक्रममा सहभागी हुनुभयो ।
सप्तरीको हरिरब्बा ५ रायोपुर शनिबार बिहान आयोजित स्थानीय भूमिहिनहरुसँगको छलफलमा उनले भूमिहिन जनतालाई भूमिको अधिकार सुनिश्चित गर्ने जिम्मेवारी राज्यको भएको बताउनुभयो । उहाँले पुराना राजनीतिक दलहरुले बोलेको कुरा नगरेर जनता ढाँट्ने गरेको भन्दै जनता आफैं सचेत हुने बेला आएको धारणा राख्नुभयो ।
रायोपुरबाट सप्तरीकै छपकी भटौल पुग्नुभएको संयोजक भट्टराईले जागरण सभालाई सम्बोधन गर्दै पहिचान र अधिकारकोलागि आन्दोलनसँग आर्थिक समृद्धिको लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । सधैं बन्द हड्ताल मात्रै गरेर गरिब जनताले नै दुःख पाउने गरेको भन्दै उहाँले अबको संघर्ष सिंहदरबार केन्द्रीत हुनुपर्ने बताउनुभयो ।
‘नाकाबन्दी गर्दा गरिब जनता नै मारमा पर्छन्, सिंहदरबारका शासकलाई केही हुँदैन, उनीहरु जहाजबाट ल्याएर पनि खान्छन्,’ उहाँले भन्नुभयो, ‘अब आन्दोलन नै गर्नुपर्ने सिंहदरबार घेर्न जानुपर्छ, जसले शासकहरुले दुःख पाउँछन् र जनताको पक्षमा परिणाम आउँछ ।’
सप्तरीको जमुनी मरेपुरा ८ मा तेस्रो कार्यक्रमलाई सम्बोधन गर्न पुगेको संयोजक भट्टराईले सहिद कृष्णदेव यादवको गाउँमा आउन पाउँदा निकै खुसी लागेको बताउनुभयो । ‘बाह्रै महिना सिंचाई गर्दै कृषिलाई आधुनिकीकरण गरेर तराईमा सुन फलाउनुपर्छ,’ स्थानीयसँग अन्तरक्रिया गर्दै उहाँले भन्नुभयो, ‘अधिकार र पहिचान प्राप्त भएपछि पनि यसले पेट भरिँदैन, आर्थिक विकास र समृद्धि बिना कसैको पनि भविष्य उज्जज हुँदैन ।’
चौथो कार्यक्रमको रुपमा सप्तरीको मलेखपुर ५ खुरहुरिया पुग्नुभएको संयोजक डा.भट्टराईले बेरोजगारीका कारण छिमेकी र अन्य मुलुकमा रगत र पसिना बगाउनुपर्ने अवस्थाको अन्त्य गर्नु नयाँ शक्तिको प्रमुख लक्ष्य भएको स्पष्ट पार्नुभयो । ‘बेरोजगारीको अन्त्य गर्दै मुलुकलाई समृद्ध बनाएर मात्रै हामीले राजनीतिक अधिकारहरुलाई सुनिश्चित गर्न सक्छौं,’ उहाँले स्पष्ट पार्नुभयो ।
नयाँ शक्तिले वैशाखभरी सदस्यता विस्तार गर्ने जेठको अन्तिममा पार्टी घोषणा गर्न लागेको भन्दै उहाँले सबैलाई संस्थापक सदस्य बन्न आह्वान गर्नुभयो । ‘पुराना पार्टी र दुई चार जना मानिसहरु मिलेर बनाए, हामी नयाँ शक्तिलाई लाखौं संस्थापक सदस्य भएको पार्टी बनाउन चाहन्छौं,’ उहाँले बताउनुभयो ।
सप्तरीको बोदे बर्लान स्थित चन्द्रा उच्च माविमा आयोजिक अर्को कार्यक्रममा बोल्नै भट्टराईले शासकहरुले मधेसीलाई हिनताबोध गराएको बताउनुभयो । ‘मधेसीलाई नेपाली होइन भनेर हिनताबोध गराइएको छ, तर राजधानीको सभ्यता निर्माण गर्ने र नेपालको संस्थापक नै मधेसी हुन्,’ उहाँले भन्नुभयो, ‘अहिले तपाईहरुलाई राष्ट्र नै नभएको जस्तो बनाइएको छ ।’ उहाँले अब मधेसीको मात्र आन्दोलनले भन्दै सबैको साझा आवाजबाट अधिकार प्राप्त गर्न सकिनेमा जोड दिनुभयो ।
शासकहरुले विदेशीको हौवा पिटेर निक्कमा सरकारको आयू लम्ब्याउन खोजकोप्रति जनता सचेत रहनुपर्ने बताउनुभयो ।
‘प्रचण्डलगायत नेताहरु मधेसमा आएर चर्का कुरा गर्नुहुन्छ, तर काठमाडौंमा गएर पुराना शासकसँग लम्पसार पर्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘तर मेरो इतिहास जहिले पनि उत्पीडितको पक्षमा छ ।’ मधेसी दलहरुले पनि संविधान नमान्ने भन्ने तर सत्ताको दौडमा पनि जाने र भत्ता पनि खाइरहने अनैतिक काम गरिरहेको बताउनुभयो ।
सिरहाको भगवानपुर २ मा आयोजित अर्को कार्यक्रममा नेता भट्टराईलाई स्थानीयले भव्यतापूर्वक स्वागत गर्नुभएको थियो ।
उहाँले तराईको कृषिको आधुनिकीकरणमार्फत बेरोजगारीको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीयसँग अन्तरक्रिया गर्दै उहाँले संविधान बन्नु खुसीको कुरा भए पनि सबैले स्वामित्वबोध गर्न नपाउनु दुःखको कुरा भएको बताउनुभयो । आउँदा दिनमा तीनवटा क्लस्टरले पालैपालो मुलुकको शासकीय सत्ता चलाउन पाउनुपर्ने र सरकारमा पनि क्लस्टरका आधारमा एक तिहाई सहभागिता सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो ।
‘मधेसीहरुले हिमाल पहाड र तराई जोड्न भूमिका खेल्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘यहाँ मधेसीले मधेसी पार्टी चलाउने र पहाडकाले पहाडीको मात्रै पार्टी चलाउने अवस्थाको अन्त्य गर्नुपर्छ ।’ उहाँले नयाँ शक्ति हिमाल, पहाड र तराई सबैले अपनत्व महसुस गर्न सक्नेगरी निर्माण गरिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नयाँ शक्तिका युवा नेता पासाङ शेर्पाले मधेसीलाई धोती भन्ने तर प्रशान्त तामाङको उत्सवमा विजय मनाउने हाम्रो अभ्यासले राष्ट्रियता बलियो हुन नसक्ने बताउनुभयो ।
सिरहाको बरियापट्टीमा भएको अर्को अन्तरक्रिया कार्यक्रममा नेता भट्टराईले आफूले नयाँ संविधन बनाउन कम्मर कसेर नलागेको भए यत्तिको संविधान पनि नबन्ने बताउनुभयो । ‘यहाँ ०४७ सालको संविधान ब्युँताउने प्रयत्न भइरहेको थियो,’ उहाँले भन्नुभयो, ‘कम्तीमा त्यसलाई रोकेर आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गरिएको छ ।’ उहाँ संविधानमा अपुग कुराहरुलाई संशोधनमार्फत पूर्ण बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले संविधान संशोधनबाट प्रत्यक्ष राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने भन्दै पुरानो संसदीय व्यवस्थाले राजनीतिक अस्थिरता थप मौलाउने चिन्ता व्यक्त गनुृभयो ।
उहाँले एउटा फरक प्रसंगमा नयाँ शक्तिमा भ्रष्टाचारी, व्यभिचारी र अपराधी नअटाउने तर पुराना पार्टीका राम्रा मान्छेहरु अटाउने स्पष्ट पार्नुभयो ।

नवौं कार्यक्रम सुरु हुनुभन्दा अगाडि संयोजक भट्टराईले दिउँसो २ः३० बजे बिहानको खाना खानुभएको थियो । चप्पल लगाएर जागरण सभामा हिडिरहेका नेता भट्टराईले सिरहाको औरही ९ मा पुगेर २०६९ जेठ २ गते ४७६ घर जल्नेगरी भएको आगलागीमा आफू प्रधानमन्त्री हुँदा त्यहाँ आएको स्मरण गराउनुभयो ।
अन्तरक्रियामा बोल्दै उहाँले पुराना पार्टीहरुले बुढी गाईजस्तै भएकाले उनीहरुलाई सम्मान मात्र गर्न सकिने तर दूध नदिने बताउनुभयो । आफ्नो समयमा सबै राजनीतिक दलहरुले काम गरेको भन्दै अब नयाँ सन्दर्भमा पुराना दलहरुको सान्दर्भिकता सकिएको बताउनुभयो ।