जनताले अनुभूति गर्नेगरी काम गर्न नयाँ शक्ति - खनाल

११ वैशाख २०७३

पोखरा । नयाँ शक्ति नेपालका केन्द्रीय सचिवालय सदस्य मुमाराम खनालले राजनीतिक दलप्रति जनताको अविश्वास बढ्दै गएकोले जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम नै गरेर देखाउन नयाँ शक्ति नेपाल वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाउँदै गरेको बताउनु भएको छ ।


नयाँ शक्ति नेपाल प्रदेश नम्बर ४ ले पोखरामा आयोजना गरेको बृहद अन्तरक्रियामा बोल्नुहुँदै खनालले समावेशी, समानुपातिक र सहभागितामुलक लोकतन्त्रको पक्षमा आफूहरु दृढ रहेको पनि बताउनुभयो । पटक–पटक भएका राजनीतिक आन्दोलनले जनतालाई राजनीति परिवर्तन दिएको भएपनि आर्थिक समृद्धिको कुरामा कसैले ध्यान नदिएकोले पुराना दलहरुबाट जनता निरास बन्दै गएको उहाँको तर्क थियो ।

०४६ सालअघिको राजनीति आन्दोलन, त्यसपछिको ०५२ को जनयुद्ध हुँदै ०६२/०६३ को परिवर्तनले पनि जनतालाई आर्थिकरुपमा सम्बृद्ध बनाउन नसकेको भन्नुहुँदै खनालले अबको एजेण्डा आर्थिक रुपमा देशलाई समृद्धिको दिशामा अगाडी बढाउने खालको हुनुपर्नेमा जोड दिनुभयो ।


उहाँले ०४६ अघि पनि दलहरुले हिंसात्मक र शान्तिपूर्ण आन्दोलन गरेको भन्दै झापा विद्रोह वा काँग्रेसको सशस्त्र संघर्षले भन्दा ०५२ सालमा शुरु भएको जनयुद्धले जनतालाई सचेत बनाएको र धेरै कुरामा परिवर्तनको अनुभूति दिएको बताउनुभयो । 'नयाँ शक्तिले आर्थिक सामाजिक मुद्दालाई लिएर जनताको आधारभूत आवश्यकता पूरा गर्ने खालको समृद्धिको खाका ल्याउँछ, 'उहाँको तर्क थियो । 


पूर्व अर्थसचिव तथा नयाँ शक्तिका सचिवालय सदस्य रामेश्वर खनालले दलहरुले समृद्धि र परिवर्तनको मुद्दा उठाएपनि त्यसलाई कार्यान्वयन गर्न नसकेकोले नयाँ शक्तिको आवश्यकता देखिएको बताउनुभयो । उहाँले राज्यको सुविधा लिएर वा विपन्न नागरिकले तिरेको करमा रजाई गरेर परिवर्तनको मुद्दा उठाउन सम्भव नहुने भन्दै समस्यासँग जुध्न आफुले राज्यको निकायको जिम्मेवारी छाडेर राजनीतिमा लागेको बताउनुभयो ।

'राजनीतिक परिवर्तन गर्न कर्मचारी भएर सम्भव नहुने रहेछ,' उहाँले प्रश्न गर्दै भन्नुभयो, 'सेना वा कर्मचारीले शासन गरेर सम्बृद्धि र विकास सम्भव हुनेभए बर्मा र पाकिस्तान किन पछाडि पर्दथ्यो र ?'
नयाँ शक्तिका अर्का सचिवालय सदस्य सुरेन्द्र चौधरीले पुराना पार्टीमा लागेर परिवर्तनको अपेक्षा गर्नु मूर्खता हुने भन्दै आफु काँग्रेसको समर्थन छाडेर नयाँ शक्तिमा लागेको बताउनुभयो । उहाँले विगतमा राजनीतिक दलहरुले भने जस्तो घरबार त्यागेर नयाँ शक्तिमा राजनीति नगर्न सुझाव दिँदै राजनीति गरेको छु भनेर समाज र राष्ट्रलाई ठगी गर्नेहरुबाट सचेत हुन आग्रह गर्नुभयो ।

नयाँ शक्तिमा राजनीति गर्ने हो भने कुनै न कुनै आय आर्जनको काम गरेर मात्रै बाँकी रहेको समय दिन उहाँले सुझाव दिनुभयो । पुरानो राजनीतिक संस्कार बदल्न नयाँ शक्तिले देशव्यापी अन्तरक्रिया गरेर जनताको सुझाव लिएको उहाँको भनाई थियो ।


नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले जनतासँग गरेको वाचा पूरा नगरेका कारण जनताहरु आफ्नै दलको सरकारसँग पनि विश्वास नगर्ने अवस्थामा पुगेको बताउनुभयो । पार्टीमा लागेर छिटो राजनीतिक लाभ खोज्नेहरुले जस्तोसुकै राम्रो कुरा गरेपनि विकास र समृद्धि दिन नसक्ने भन्दै मुल्मीले जनतालाई विश्वास हुनेगरी आर्थिक सम्बृद्धिको मुद्धा अगाडी बढाउन नयाँ शक्तिलाई सुझाव दिनुभयो । राजनीतिक दलहरु सकारात्मक सोचकासाथ रुपान्तरित भएर अघि नबढ्ने हो भने नयाँ शक्तिको आवश्यकता जनताले गर्ने उहाँको तर्क थियो ।


सदावहार नायिका करिष्मा मानन्धरले नयाँ शक्तिले देशलाई समृद्ध बनाउने सपना होईन काम नै शुरु गरेको भन्दै सकारात्मक कामलाई साथ दिनु आफ्नो कर्तव्य सम्झेर अगाडि बढेको बताउनुभयो । उहाँले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईमा देश समृद्ध बनाउन सक्ने भिजन भएर नै उहाँलाई धेरैले साथ दिएको भन्दै आफुहरु पनि देश निर्माणको मुद्दामा सेलिब्रेटी मात्रै बनेर बस्न नसक्ने भएकोले नयाँ शक्तिको अभियानमा लागेको बताउनुभयो ।


कार्यक्रममा प्रदेश नम्बर ४ का संयोजक देवेन्द्र पराजुली र कास्कीका संयोजक हेमबहादुर थापाले पनि धारणा राख्नुभएको थियो । सो अन्तरक्रियामा २ सय ५४ जनाले आफुहरु पनि नयाँ शक्ति अभियानमा लाग्न ईच्छुक भएको प्रतिबद्धता जनाउनुभएको थियो ।