काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त तिवारीलाई संयोजक भट्टराईद्वारा बधाई

१४ बैशाख २०७३

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यका विकास प्राधिकरणका नवनियुक्त विकास आयुक्त डा.भाइकाजि तिवारीलाई बधाई तथा शुभकामना दिनुभएको छ । डा. भट्टराईले आज विहान टेलिफोन गरी डा. तिवारीलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको हो ।

सोमवार बसेको मन्त्रीपरिषद् वैठकले डा. तिवारीलाई काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा नियुक्त गरेको थियो । त्यसअघि उहाँले उमेर हदका कारण चैत्र पहिलो साता अनिवार्य अवकाश लिनुभएको थियो ।

डा. भट्टराईले आफू प्रधानमन्त्री हुँदा काठमाडौंको सडक विस्तार अभियान चलाउनु भएको थियो । तत्कालीन प्रधानमन्त्री डा. भट्टराईको उक्त अभियानलाई कार्यान्वयन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणका नायव आयुक्तको हैसियतमा डा. तिवारी र उपत्यका ट्राफिक प्रहरी प्रमुख गणेश राईले निकै महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । राजधानीका साँघुरा सडक फराकिलो पारेपछि तत्कालीन प्रधानमन्त्री डा. भट्टराई, गणेश राई र डा. तिवारीको प्रशंसा समेत भएको थियो ।

उपत्यकाका केही ठाउँमा बाटो विस्तारको काम अझै बाँकी छ । काठमाडौंलाई नयाँ शहरको ढाँचामा ढाल्ने र नदी किनारको करिडोरको विकास गर्ने काम पनि बाँकी नै छ । डा. भट्टराईले डा. तिवारीलाई यी कार्य पूरा गर्न ध्यान केन्द्रित गर्नुपर्ने सुझाव पनि दिनुभएको छ । साथै काठमाडौं उपत्यकाको एकीकृत विकास योजना कार्यान्वयन गर्न र तत्काल कमसेकम भू–उपयोग नीति कडाइपूर्वक लागू गर्न पनि सुझाव दिनुभएको छ । उपत्यकाको विकासमा नयाँ शक्तिले सवै प्रकारको सहयोग गर्नेसमेत डा. भट्टराईले विश्वास दिलाउनुभएको छ ।