लोकतन्त्रबिना आर्थिक समृद्धि सम्वभ हुँदैन : पूर्व अर्थसचिव खनाल

१७ वैशाख २०७३

इटहरी । नयाँ शक्ति नेपालका सचिवालय सदस्य तथा पूर्व अर्थसचिव रामेश्वर खनालले लोकतन्त्रबिना आर्थिक समृद्धि सम्भव नहुने बताउनुभएको छ ।


वैकल्पिक विचार मञ्च नेपालले शुक्रबार इटहरीमा आयोजना गरेको आधुनिक लोकतन्त्र र आर्थिक समृद्धि विषयक बहस कार्यक्रममा खनालले उक्त कुरा बताउनुभएको हो । ‘व्यक्तिले आत्म सम्मान महसुस गर्नु नै लोकतन्त्र हो,’ उहाँले भन्नुभयो, ‘प्रत्येक व्यक्तिले आफ्नो आत्मसम्मान महसुस गरेको छैन भने त्यो लोकतन्त्र हुन सक्दैन ।’


उहाँले श्रमको सम्मानबाट मात्र लोकतन्त्रको सम्मान हुनेमा जोड दिनुभयो । ‘लोकतन्त्रमा प्रत्येक नागरिकले स्पेश पाउनुपर्छ,’ खनालले भन्नुभयो, ‘नागरिकको अधिकार र आत्मसम्मानबिना लोकतन्त्र बलियो हुनसक्दैन ।’


उहाँले एक फरक प्रसंगमा नेपालीमा आत्मविश्वासको धेरै कमी रहेको बताउनुभयो । ‘राम्रो कुरामा पनि कुरा काट्ने प्रवृत्ति हामीमा हावी छ,’ उहाँले सबैलाई सकरात्मक बन्न सुझाउनुभयो । पूर्वाधारमा नागरिकको सहज पहुँचबिना राष्ट्रको विकास सम्भव नहुने उहाँको तर्क थियो ।


विकासका लागि सुशासन अनिवार्य भएको भन्दै खनालले आर्थिक स्वतन्त्रतालाई विकासको अर्को खम्बाको रुपमा व्याख्या गर्नुभयो ।